बाउको चिट्ठी आईपुग्यो !

बाउको चिट्ठी आईपुग्यो !
प्यारो छोरा सन्ते !
भुकम्पलाई TRP को श्रोत मान्ने छिमेकी T.V. च्यानलहरु ! राहतस्वरूप आएका बाईबल र बिफ मसला ! मृतकको चिर सान्तिको कामना गर्दै एकबर्षे मौन धारणमा बसेको सरकार ! भुकम्प आएकै दिनदेखि सुत्केरी बिदामा बसेका सभासदहरु ! खन्डहर भएको राजधानी र टुहुरो मोफसल ! यस्तै यस्तै नै छ छोरा देशको हालत ।
तेरी आमा र म ज्युदै छौ । आमाको सारीको छानो हालेर बसेका छौ । अमृकन डलर नि सुङ्न पा छैन ! जापानी ऎन नि हात लाग्या छैन । तर सेलिब्रेटी कि के भन्छ्न नि हो त्यो भईएको छ । सुगुरको थुतुनो जस्तो क्यामरा तेर्साउदै तुम नहि मरा ? कित्ना आदमी मरा ?? कितने दिन से नहि खाया ? भन्दै थुप्रो मान्छे आएका छ्न । तलबाट नि खिच्दै छ्न माथी हेलिकप्टरबाट नि खिच्दैछ्न । हाम्रो सिँगो गाउँ नि उनीहरुको टिभिमा आथ्यो रे भनेर सदरमुकाममा हल्ला छ ।
तेरा माईकल काका हिजो साँझ टुप्लुक्क फिरिको बस चडेर गाउँ आईपुगेको छ । सेरोफेरो आधी वडाको धानखाने खेत बेचेर काठमाडौमा २ आना एक पैसा एकदाममा बाँसको घनो जस्तो घर बनाएको थियो । घर नुहिएर रामदेबले जस्तो धनुषाशानमा योगा गर्दै छ रे ! हाम्रो त बाँसघारी प्रसस्त छ भोली अर्को घर बनाउला त्यसको बिजोग हुने भो । भाईलाई अंश दिने कानुन त छैन तर त्यसलाई बांख्राको टाट्नो र टाट्नोले चर्चेको जमिन लैजा भनेको छु । तेरा पनि बाउ पछिका काका हुन टाट्नो लागो भनेर मन सानो नगर । धर्म हुन्छ । काका काकी र सानो भतिज त्यही बस्छन ।
काठमाडौ ३ मिटर पर सरेको छ भन्ने हल्ल छ । तैले किनेको घडेरी मकवानपुरको टिस्टेपालुङ तिर पुग्या छ कि भन्ने अड्कल काट्या छु । तेरी पनि बुढीको सपनालाई केन्द्रबिन्दु बनाएर १० रेक्टरको भुईचालो गएको छ । तिमीहरूको काठमाडौमा घर बनाउने सल्लाह भएको रहेछ उता ७.९ भुईचालो जाने बित्तिकै बुहारीको सपनाको महल गर्ल्यामगुर्लुम ढल्यो । नातीलाई आइस्यो र गईस्यो , भुजा जुनार गरिस्यो र सुकुला होइस्यो भनेर ट्युसन पढाउदै थिइ भुईचालो गएको दिनदेखि आउनुस जानुस खानुस बस्नुसमा झरेकी छ । त्यो अलकापुरी धर्तीले पनि कतिका राजशी सपनाहरु बोकेर ठडिरहन सकोस । जे हुनु नराम्रो भैहाल्यो यता गाउँ मै बनाउनु पर्छ घर अब । बाँसको टाटी हालेर परालले छाउनुपर्छ भुईचालो आए नि फुत्त भाग्न सजिलो किची नै हाल्यो भनेपनि नमरिने ! कुरो बुझिस हैन ?
अहिले म पल्लो गाउँ हिडेको उद्दारमा खटिनलाई । मोबाईल नपुरेको भए उद्दारमा सक्रिय भएको एउटा सेल्फी तेरो माईकल काकालाई भनेर तेरो प्रोफाईलमा ट्याग गर्दिन्थे छैन ढुक्क भयो । यता गाउँमा भुईचालो भन्दा सेल्फिको महामारी छ त्यही भएर जानेको मैले नि । लु तंपनि त्यहाँ स्टाटस मात्रै बनाएर नबसेस । देशमा आपत आइपरेको बेला सकेको सहयोग जुटाउन तिर लागेस । तिमेरुका ओडेका ब्लान्केट र झत्ता लगाउन नपाएर यहाँ कोहि मरेको छैन त्यस्ता जडौरी दान गरेर नपठाउनु । जे जति सकिन्छ नखत प्रधानमन्त्री राहात कोषमा पठाउनु । सबैभन्दा भर पर्दो त्यही हो ।
अहिलेलाई म लागे । चिरञ्जीवी भएस ।
उहीँ तेरो बाउ !

#copied

Share this

Related Posts

Previous
Next Post »